आज मिति २०८३ असार १७ गते संघीय संसद अन्तर्गतको एक महत्वपूर्ण उपसमितिको भ्रमण टोली र हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूबीच आज हेटौंडामा एक बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपालको संविधानको धारा ५४ तथा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ बमोजिम गठित 'राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति' अन्तर्गतको लैङ्गिक असमानता अध्ययन उपसमिति" सँग उक्त अन्तरक्रिया गरिएको हो।माननिय सदस्य श्री मदन कुमारी शाह (गरिमा)संयोजक हुनुभएको उपसमितिमा माननीय सदस्य डा. अंकिता ठाकुर ,माननीय सदस्य डा. अन्जान शाक्य, माननीय सदस्य गीता गुरुङ र माननीय सदस्य प्रकाशचन्द्र परियार सदस्य रहनुभएको छ।अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री मिना कुमारी लामा, विभिन्न वडाका वडा अध्यक्षहरू तथा नगर कार्यपालिका सदस्यहरूको महत्त्वपूर्ण उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले स्थानीय स्तरमा काम गर्दा भोगेका व्यावहारिक, कानुनी तथा लैङ्गिक असमानतासँग जोडिएका आ-आफ्ना समस्या एवं चुनौतीहरू भ्रमण टोली समक्ष राख्नुभएको थियो।


