FAQs Complain Problems

अनुज्ञापत्र लिने तयारीमा हेटौंडाको गुन्द्रुक

देश तथा बिदेशमा पनि सबैको चासोको तरकारीमा पर्ने गुन्द्रुकको व्यवसायीक उत्पादन हेटौंडामै थालिएको छ । नेपाली खानाको विशेष परिकारमा पर्ने गुन्द्रुकको उत्पादन र बजारीकरणका लागि हेटौंडा–१२ को महिला कृषि समुह लागि परेको छ ।

हेटौंडा उपमहानगरपालिका–१२ मा रहेको कञ्चनगंगा कृषि सहकारीसँग आवद्ध रहेको कृषि महिला समुहले उत्पादन गरेको गुन्द्रुकको अनुज्ञापत्र लिने तयारी थालिएको छ । कञ्चनगंगा कृषि समुहले अनुज्ञा पत्रका लागि प्रकृया अघि बढाइ सकेको छ अब खाद्य परिक्षण शाखाबाट गुणस्तर मापन पछि बजारीकरणका लागि सहज हुने उपमहानगरपालिका उद्योग शाखाका प्रमुख श्री हिमप्रसाद पौडेलज्यूले बताउनुभयो ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत सञ्चालन भएको गुन्द्रुक उत्पादन गर्ने कार्यको नियमित रुपमा प्राविधिकको निरीक्षण तथा अनुगमन सहित थालिएको छ । हेटौंडा १२ आपधाप, घले गाउँमा स्थानिय २० जना महिलाहरुले समुह बनाएर कामलाई अघि बढाइरहेको शाखा प्रमुख पौडेलले बताउनुभयो। अहिलेलाई १५ कठ्ठा क्षेत्रफलबाट साग खेतीबाट सुरु गरिएको गुन्द्रुक उत्पादनलाई निरन्तरता दिँदै २१ कठ्ठा सम्म साग लगाउने लक्ष्य राखिएको समुहका अध्यक्ष श्री चिनिमाया गुरुङले बताउनुभयो।

अनुगमनसँगै गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) वडा स्तरिय अभिमुखीकरण तथा पिआरए कार्यक्रम सञ्चालन गरेको छ ।  हेटौंडा–१२ आपधापमा नगर प्रमुख श्री मीनाकुमारी लामाज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कञ्चनगंगा कृषि समुहका सदस्यहरुको सहभागिता थियो । कार्यवाहक वडा अध्यक्ष श्री महेश भट्टराईज्यूको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य श्री तारा ढुङ्गाना, १२ नम्बर वडा सदस्य श्री गिता परियार, उपमहानगरपालिका उद्योग शाखाका प्रमुख श्री हिम प्रसाद पौडेल, महिला उद्यमी श्री गिता कडरिया मैनाली, समुहका अध्यक्ष श्री चिनिमाया गुरुङको आतिथ्यता रहेको थियो ।