FAQs Complain Problems

कक्षा ४ देखि ८ सम्म स्थानीय पाठ्यक्रम थप्दै हेटौंडा उपमहानगरपालिका

नगरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय बिषयमा जानकारी दिने उद्देश्य सहित हेटौंडा उपमहानगरपालिकाले नयाँ पाठ्यक्रम निर्माणको तयारी गरेको छ ।

२०७९ सालबाट कक्षा १ देखि ३ सम्म अध्यापन गराउँदै आएको स्थानिय पाठ्यक्रमलाई ४ देखि ८ कक्षा सम्म सञ्चालनको तयारी गरेको हो ।चालु शैक्षिक सत्रबाट लागु हुने गरी निर्माण गर्न लागिएको ४ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमका लागि मिति २०८१ बैशाख २५ गते सुझाब संकलन गरिएको छ। 

मंगलबार हेटौंडा उपमहानगरपालिकामा शिक्षा समितिका सरोकारवाला, पाठ्यक्रम निर्माणमा संलग्न सहित भएको छलफलले पाठ्यक्रमलाई सरल र सहज बनाउने तर्फ ध्यान दिन सुझाब दिएका थिए। पुस्तक निर्माणको क्रममा समेटिएका विषयहरुको बारेमा महाशाखा प्रमुख सिताराम कोइरालाज्यूले प्रस्तुतिकरण गर्नुभएको थियो। नगर प्रमुख मीना कुमारी लामाज्यूले स्थानीय पाठ्यक्रमलाई व्यवहारिक बनाउन जरुरी रहेको बताउनु भयो। उनले स्थानीय भाषा, संस्कृती भेषभुषा सहितका विषयबारे बालबालिकालाई जानकारी गराउँदै अघि बढाउनु पर्ने भन्दै शिक्षालाई ‘प्राक्टिकल’ बनाउने तर्फ ध्यान दिन जरुरी रहेको औँल्याउनु भयो।

शिक्षा बिकास इकाइका प्रमुख दिनानाथ गौतमज्यूले अन्य पालिकाले पनि आफ्नो पाठ्यक्रम निर्माण गरी अध्यापनमा लगाइसकेको भन्दै चाँडै पुस्तक निर्माणका काम सकेर अघि बढ्न सुझाब दिनुभयो। पालिकाले पाठ्यक्रम निर्माण गर्दा स्थानीय पहिचानको बिषयलाई राम्रोसँग उजागर गर्न जरुरी रहेको औल्याउनुभयो। सानै उमेरबाट उनीहरुले स्थानीय पहिचानलाई सहज भाषामा बुझ्ने गरी पुस्तक तयार गर्न सुझाब दिनुभयो।  

प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुबेदीज्यूले बिषयमा बालबालिका मैत्री बनाउन जरुरी रहेको बताउनुभयो। स्थानीय पाठ्यक्रम भएकाले निजी तथा सामुदायिक विद्यालयहरुमा नेपाली भाषामै अध्ययन गराउन जरुरी रहेको आवश्यक हुने सुझाब दिनुभयो।  ‘हाम्रो हेटौंडा’  नाम रहेको स्थानीय पाठ्यक्रमलाई नगरको आफ्नो मौलिकता झल्कने गरी निर्माण गर्ने तयारी रहेको छ। पाठ्यक्रममा स्थानीय बिषय बस्तुलाई बालबालिका माझ लैजाने गरी पुस्तक निर्माण हुने उपमहानगरको शिक्षा बिकास महाशाखाले जनाएको छ। पुस्तकमा स्थानीय कला, संस्कृति, भाषा, भेषभुषा र जातिय पहिचान सहितको सन्दर्भ सामग्री समेटिने महाशाखा प्रमुख सिताराम कोइरालाज्यूले जानकारी दिनुभयो।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, उपमहानगर सामाजिक बिकास समितिका संयोजक रामकृष्ण कोइराला, हेटौंडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा. कृष्ण धिताल, शिक्षा बिकास महाशाखा, प्याब्सन मकवानपुरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।