वडा कार्यालयको चालु आर्थिक बर्षको बजेटमा समावेश महिला लक्षित कार्यक्रममा सहभागी बन्दै सवारी चालकको प्रशिक्षण लिएका हेटौंडा-३ का महिलाहरु सवारी चालक बन्ने भएका छन् ।
महिलाहरुको आर्थिक पाटोमा सहयोग पुर्याउने उद्देश्य अनुसार चालु आर्थिक बर्ष २०८०/०८१ को बजेटमा समावेश रहेको २ लाख रुपियाँ बजेटबाट कार्यालयले वडामा रहेका १५ वटा टोल विकास संस्थाबाट छनौटमा परेका १५ जना महिलालाई (४ चक्के) साना सवारी चालकको प्रशिक्षण दिएको थियो। प्रशिक्षणमा सहभागी मध्ये एकले यातायात कार्यालय हेटौंडाले लिएको सवारी चालक अनुमती पत्र समेत प्राप्त गरेकी छन्। १५ लिने तालिममा सहभागि १५ जनामध्ये हेटौंडा-३ की दिक्षा ढकालले सवारी चालक अनुमति पत्रको परीक्षा पास गर्दै अनुमति पत्र प्राप्त गरेकी हुन् ।
तालिमको क्रममा दिएको परीक्षामा पास भएको भन्दै तालिम समापनमा ढकाललाई सम्मान खादा लगाएर सम्मान समेत गरीएको थियो। बुधबार भएको तालिमको समापन गर्दै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री मीना कुमारी लामाज्यूले तालिम लिएर प्राप्त गरेको सीपलाई व्यवहारमा उतार्ने गरी काम गर्न सुझाब दिनुभयो। उहाँले सीपलाई सिरानीमा राख्ने होइन व्यवसायीक हुँदै आयआर्जनमा जोडिनु पर्ने बताउनुभयो। व्यवसायीक बन्दै आर्थिक रुपमा सक्षम बन्न सके आत्मनिर्भर बन्न सकिने उहाँको भनाई थियो ।
हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाका अध्यक्ष ढलकबहादुर थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा सदस्य सबिना बिडारी, वडा सचिब महेन्द्र चापागाइँ, पायोनियर मल्टिपर्पस ड्राइभिङ प्रालिका सञ्चालक दिनेश बिडारी, व्यवस्थापक उर्मिला आचार्यको आतिथ्यता रहेको थियो।

