FAQs Complain Problems

हेटौंडाका बिरामीलाई रगत निःशुल्क

हेटौंडा उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्करुपमा रगत उपलब्ध गराउने भएको छ । साउन १ देखि लागु हुने उक्त निर्णय २०८० असारसम्म लागु हुनेछ । जिल्ला रेडक्रस सोसाइटी मकवानपुरसँगको सहकार्यमा उपमहानगरपालिकाले बिरामीका लागि रगत निःशुल्क उपलब्ध गराउने सहमाति भएको हो । मान्यताप्राप्त अस्पतालमा उपचाररत् हेटौंडाको बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यकतानुसार रगत रेडक्रसद्वारा सञ्चालित ब्लड बैंक हेटौंडाले उपलब्ध गराउने सहमति भएको मेयर मीना कुमारी लामा ज्यूले जानकारी दिनु भएको छ ।

बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै आ.व. २०७९/०८० का लागि वार्षिक विनियोजित बजेट शीर्षक ‘निःशुल्क रक्तसेवा कार्यक्रम’बाट निःशुल्क रगत उपलब्ध गराउन दुवै पक्ष सहमत भएर करार गरिएको मेयर लामाले जानकारी दिनु गराउनु भइको छ ।

रकम भुक्तानीका लागि रेडक्रसले दिइएको सेवाको प्रतिवेदन त्रैमासिकरुपमा उपलब्ध गराउनुपर्नेछ । साथमा नागरिकता/जन्मदर्ताको प्रतिलिपि वा कार्यालयको सिफारिसपत्र र स्वास्थ्य संस्थाले प्रदान गरेको रगत आवश्यक छ भनी गरिएको सिफारिसपत्र अनिवार्य पेश गर्नुपर्नेछ । सम्झौतामा लेखिएका कुराहरुको हकमा सम्झौताबमोजिम र नलेखिएका कुराहरुको हकमा प्रचलित कानुनबमोजिम हुनेछ ।

मेयर लामाका अनुसार  सेवा उपलब्ध गराए वापत् रेडक्रसबाट हुने सम्पूर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्नेछ । प्रतियुनिट ८ सय ५० रुपियाँका दरले रगत वापत्  रकम प्रत्येक त्रैमासमा उपमहानगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने मेयर लामाले जानकारी दिनु भयो । आवश्यकताका आधार उपमहानगरपालिकाभित्र कुनै घटनामा उपचाररत् बिरामीलाई समेत रगत निःशुल्क उपलब्ध गराउन सकिने वहाँले जानकारी दिनु भयो ।