हेटौंडा उपमहानगरपालिका कृषि तथा स्थानीय उत्पादन प्रदर्शनी तथा व्यापार मेला भव्यताका साथ सम्पन्न
हेटौंडा, मकवानपुर - हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालित "कृषि तथा स्थानीय उत्पादन प्रदर्शनी तथा व्यापार मेला" भव्यताका साथ सम्पन्न भएको छ। "आलीदेखि थालीसम्म" भन्ने मुख्य नाराका साथ आयोजित यस मेलाले स्थानीय कृषि उपज, उत्पादन तथा व्यापार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
मेलाको समापन समारोहमा विभिन्न स्थानीय जनप्रतिनिधि, कृषि विज्ञ, व्यापारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले स्थानीय तहमा उत्पादन हुने कृषि वस्तुहरूको बजारीकरण र प्रवर्द्धन गर्न यस्ता मेलाहरूले ठूलो सहयोग पुर्याउने बताएका छन्।
कृषक तथा स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा स्थानीय स्तरमा उत्पादित विभिन्न कृषि सामग्री, स्थानीय खानाका परिकार तथा हस्तकलाका सामानहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए। मेला अवधिभर १७ वटा कृषि , ३ वटा पशुपन्छी जन्य उत्पादन र १५ वटा उद्यम तर्फका स्टलहरु रहेका थिए। यस मेला अवधिमा लगभग रु. ७५०००० बराबरको कारोबार भएको आकलन गरिएको छ भने करिब ४५०० जना अवलोकनकर्ता तथा उपभोक्ताहरुले प्रत्यक्षरुपमा अवलोकन गरेका थिए। समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर वलीज्युको अध्यक्षतामा, नगर उपप्रमुख राजेश बानियाँज्युको प्रमुख आतिथ्यमा संचालन भई उत्कृष्ट स्टलहरूलाई सम्मानसमेत गरिएको थियो।








