FAQs Complain Problems

उपमहानगरको डेंगु नियन्त्रण अभियान निरन्तर

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुको संक्रमण दर बढ्दै गएपछि हे.उ.म.न.पा.ले सुरु गरेको स्प्रे अभियान नगरका विभिन्न वडाहरुमा चलिरहेको छ । जनस्वास्थ्य शाखाका अनुसार अहिले सम्म  १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नगरपालिकाले नियमितरुपमा स्प्रे गर्दै आएको जानकारी गराएको छ । रोगको दर बढ्दै गएपछि हामीले नगर प्रहरीको सहयोगमा  स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर  सञ्चालन गरिरहेको नगर प्रमुख श्री मिनाकुमारी लामाले बताउनु भयो।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बुधबार १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालिएको हो । 

संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेका क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए ।संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंले बताए । नगरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

 असार अन्तिमबाट सुरु भएको संक्रमणदर बिस्तारै बढ्दै गएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनु भयो । जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरका बजार क्षेत्रमा पर्ने ४ र ५ वडामा बढी बिरामी देखिएको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा केही संख्यामा डेंगु संक्रमित देखिए पनि नगरभित्र देखिनुले समस्या भएको कार्यालयले जनाएको छ । बिरामीको संख्या बढ्दै जानुले सतर्कता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ । संक्रमितको हेटौडा अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।