FAQs Complain Problems

नगर अस्पतालको सेवा चुस्त

हेटौंडा– नगरवासीलाई सहज स्वास्थ्य सुविधा गराएका दुई अस्पतालले सेवाग्राहीको मन जितेका छन् ।

डाक्टरसहितको सुविधा वडाबाटै पाएपछि पछिल्लो समय हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेका दुई नगर अस्पताल नगरवासीको विश्वासको केन्द्र बनेका छन् । तीन वर्षअघिबाट हेटौंडा–१३ र १६ मा सञ्चालन भएका अस्पतालमा दैनिक सेवा लिन आउनेको संख्या उल्लेख्य रहेको छ ।

उपमहानगरले हरेक वडामा सञ्चालन गरेका स्वास्थ्य चौकी/आधारभूत स्वास्थ्य केन्द्रहरूको तुलनामा अस्पतालमा बिरामीको संख्या बढेको देखिएको छ । दुवै वडामा रहेका ५/५ बेडका अस्पतालमा डाक्टरसहितको उपचार सेवा उपलब्ध छ ।

२०८० सालबाट सञ्चालन भएको हेटौंडा–१३ को अस्पतालबाट २०८०/०८१ मा १३ हजार २२९, २०८१/०८२ मा ९ हजार ६७६ र २०८२/०८३ को जेठसम्म ५ हजार ८३९ जनाले सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै हेटौंडा–१६ मा रहेको अस्पतालबाट २०८०/०८१ मा ११ हजार १३७, २०८१/०८२ मा ११ हजार ४५ र २०८२/०८३ को जेठसम्म ७ हजार ६३९ जनाले सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

दुवै वडामा सञ्चालन भएका अस्पतालले ओपीडी, प्रयोगशाला, क्षयरोग, गर्भवती परीक्षण, बर्थिङ सेन्टरसहित पोषणसम्बन्धी सेवा सुविधा दिँदै आएका छन् । अस्पतालले स्थानीय स्तरमा आवश्यक एम्बुलेन्स सुविधा पनि उपलब्ध गराउँदै आएका छन् ।