FAQs Complain Problems

हेटौंडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौंडा-१२ घले गाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी सस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।
लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडा स्थित खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायी मध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको बताइएको छ । 
मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ। करिब चार महिना लामो परिक्षण र निगरानी पश्चात खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएको हो। उपमहानगरपालिकाको १ लाख रुपियाँ बाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्विकृत पाएको हो।