हेटौंडा, असार २६, २०८३
हेटौंडा उपमहानगरपालिकाले स्थानीय सरकारबाट प्रवाह भइरहेका सेवा, विकास निर्माणका कार्य तथा सुशासन प्रवर्द्धनका प्रयासबारे नागरिकलाई जानकारी गराउने र सेवाग्राहीबाट प्राप्त सुझाव तथा गुनासोको सुनुवाई गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
नगरप्रमुख श्री मिना कुमारी लामाज्यूको अध्यक्षतामा शुक्रबार (२०८३ साल असार २६ गते) आयोजित उक्त कार्यक्रममा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका प्रमुख विकास निर्माणका कार्य, सेवा प्रवाह, सुशासन, सामाजिक विकास, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा संस्थागत सुधारका गतिविधिबारे जानकारी गराइएको थियो।
कार्यक्रममा नगरप्रमुख श्री मिना कुमारी लामाज्यूले स्थानीय सरकार नागरिकप्रति उत्तरदायी, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै सार्वजनिक सुनुवाईले जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच विश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई आगामी योजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सार्वजनिक सुनुवाईका क्रममा सहभागी नागरिक, सरोकारवाला निकाय, नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले विकास निर्माण, आधारभूत सेवा, सरसफाइ, पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, वातावरण तथा प्रशासनिक सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा, सुझाव र गुनासाहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा नागरिकमैत्री बनाउँदै जनअपेक्षाअनुसार विकास निर्माणका कार्यलाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
नेपाल पत्रकार महासंघ, मकवानपुरको समन्वयमा सम्पन्न उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरू, वडा अध्यक्षहरू, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघसंस्था तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


