हेटौंडा उपमहानगरपालिकामा साता व्यापी सरसफाई अभियान सम्पन्न भएको छ । सरकारी कार्यालय परिसरमा सरसफाई तथा फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको अभियान आज जेठ १ गते सम्पन्न भएको हो ।
वातावरण तथा सरसफाई शाखाको आयोजनामा सञ्चालन गरिएको अभियान अन्तर्गत कार्यालय परिसरमा उम्रिएका झारपात हटाइएको छ भने विगतमा भएको आगजनी तथा तोडफोडबाट उत्पन्न फोहरसमेत व्यवस्थापन गरिएको छ ।
विशेषगरी चैत्र २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जलेका सवारी साधनबाट निस्किएको फोहर, तोडफोड भएका टेबल, कुर्सी, सिसालगायत सामग्रीको व्यवस्थापन गरिएको छ । साथै उपमहानगरपालिकाको पछिल्लो भागमा रहेका अनावश्यक झारपातसमेत सफा गरिएको छ ।
कार्यक्रममा शाखाअन्तर्गतका करिब १ सय कर्मचारी परिचालन भएका थिए । अभियानले कार्यालय परिसरलाई सफा, व्यवस्थित र वातावरणमैत्री बनाउन सहयोग पुगेको छ ।
मिति:२०८३/०२/०१

