FAQs Complain Problems

सडक किनारमा फुलेका फूलले बढायो हेटौंडाको सौन्दर्य

हेटौंडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न सडक क्षेत्रमा ढकमक्क फुलेका फूलहरूले यतिबेला हेटौंडा शहरको सौन्दर्यलाई थप आकर्षक बनाएका छन्। सडक छेउमा रोपिएका रंगीचंगी फूलहरूले हरित शहरको पहिचान बोकेको हेटौंडालाई ‘फूलैफूलको शहर’ का रूपमा थप परिचित गराइरहेका छन्।

हेटौंडा बजार क्षेत्रको मुख्य व्यापारिक केन्द्र कान्तिराजपथदेखि उपमहानगरका विभिन्न सडक, डिभाइडर तथा सार्वजनिक क्षेत्रमा फुलेका फूलहरूले स्थानीयवासीसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षित गरिरहेका छन्। सडक पेटी तथा सार्वजनिक स्थलमा व्यवस्थित रूपमा सजाइएका फूल तथा हरियालीले शहरको सौन्दर्यमा थप चमक ल्याएको छ।

कान्तिराजपथस्थित डिभाइडर, भैरवरोड, हुप्राचौर, कमाने लगायत उपमहानगर क्षेत्रभित्र रहेका पार्क तथा सार्वजनिक स्थानहरूमा यतिबेला विभिन्न प्रजातिका फूलहरू ढकमक्क फुलेका देख्न सकिन्छ। त्यसैगरी, उपमहानगरपालिकाले १९ वटै वडामा फलफूल तथा मौसमी फूलका बिरुवा वितरण गरी वृक्षारोपण तथा हरियाली प्रवर्द्धनको कार्यलाई निरन्तरता दिएको छ।

नगरलाई स्वच्छ, हरित र आकर्षक बनाउने उद्देश्यका साथ उपमहानगरपालिकाले योजनाबद्ध रूपमा लगानी गर्दै आएको जनाएको छ। फूल तथा हरियाली व्यवस्थापनका लागि दैनिक रूपमा कर्मचारी परिचालन गरी संरक्षण, सरसफाइ तथा स्याहारसम्भारको काम भइरहेको वातावरण शाखाले जानकारी दिएको छ।

उपमहानगरपालिकाले आगामी पाँच वर्षभित्र ५० हजार बिरुवा रोप्ने लक्ष्यसहित हरियाली विस्तार अभियान सञ्चालन गरिरहेको छ। साथै सडक क्षेत्रको फूल तथा सरसफाइ व्यवस्थापनका लागि करिब एक सय जनशक्ति परिचालन गरिएको वातावरण शाखाले जनाएको छ।